मकर श्रेष्ठ
भक्तपुर, जेष्ठ ३१ - परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस बर्षको एसएलसीको नतिजा बुधबार प्रकाशित गर्ने तयारी गरेको छ । नतिजाको तयारी अन्तिम चरणमा पुगेको पनिका उप नियन्त्रक अम्विकाप्रसाद रेग्मीले जानकारी दिए ।
नतिजा प्रकाशित भएपछि हुन सक्ने सम्भावित घटना रोक्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । यसै बिषयमा छलफल गर्न मंगलबार भक्तपुरका प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर भण्डारी पनिकामा पुगेका थिए ।
'आज नतिजा सार्वजनिक गर्ने तयारी छ, सुरक्षा मजबुत बनाई दिनुपर्यो भनेका छन,' सुरक्षा निकायका एक अधिकारी भने । रुजु सकिएपछि कम्प्युटरमा सबै परीक्षार्थीको नम्बर ईन्ट्री गर्दा कुनै समस्या नआए नतिजा बुधबारै सार्वजनिक हुने स्रोतले जनाएको छ । ठूलै समस्या आएमात्रै बिहीबार नतिजा प्रकाशन हुने स्रोतको दाबी छ ।
यसवर्षको एसएलसी परीक्षामा नियमिततर्फ चार लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २८३ जना गरि मुलुकभरबाट कूल पाँच लाख २८ हजार २ सय ५७ परीक्षार्थी गरी ५ लाख २८ हजार २ सय ५७ जनाले परीक्षा दिएका छन ।
प्रकाशित मिति: २०६९ जेष्ठ ३१ ०९:०० (www.ekantipur.com)